Thursday, September 26, 2013

फिफाद्वारा जम्बो कार्यसमितिलाई निरन्तरता दिन अस्वीकार

काठमाडौं - जम्बो कार्यसमितिलाई निरन्तरता दिने अखिल नेपाल फुटबल संघ (एन्फा) को योजना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ।

एन्फाले कात्तिक ७ मा हुने निर्वाचनका लागि १३औं साधारण सभाले ३१ सदस्यीय कार्यसमिति यथावत् राख्ने निर्णय गरेको थियो। तर, फिफाले आफ्ना सदस्य राष्ट्रको कार्यसमिति १७ सदस्यभन्दा बढी गर्न नमिल्ने प्रस्ट निर्देशन दिएपछि एन्फाको आसन्न निर्वाचन प्रभावित हुने भएको छ। एन्फाले ३१ सदस्यीय कार्यसमितिकै लागि निर्वाचन प्रक्रिया अघि बढाइसकेको थियो । मनोनयन पनि दर्ता भइसकेको छ। अध्यक्षमा गणेश थापा छैटौं कार्यकालका लागि निर्विरोध भइसकेका छन् भने एन्फाको पुरानो योजनाअनुसार ८ उपाध्यक्षका लागि २२ तथा २२ सदस्यका लागि ३७ जनाले मनोनयन दर्ता गराएका थिए। फिफाले भने कार्यसमितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष र १३ सदस्यमात्र हुनुपर्ने प्रस्ट पारेको छ। मनोनयन दर्ताको अन्तिम दिन बुधबार निर्वाचन प्रक्रिया अवलोकन गर्न काठमाडौं आइपुगेको फिफाका दुई सदस्यीय प्रतिनिधिमण्डलले कुनै हालतमा ३१ सदस्य कार्यसमिति नस्वीकार्ने प्रस्ट पारेका थियो। फिफाको नेसनल एसोसिएसन म्यानेजर पिरिरो कोरारो र एसियाली फुटबल महासंघ (एएफसी) का नेसनल एसोसिएसन विभागका सी सङले ३ उपाध्यक्ष र एक महिलासहित बढीमा १७ सदस्यीय कार्यसमिति हुनुपर्ने अडान राखेका थिए। राजधानीमा रहेका एन्फा पदाधिकारीले बिहीबार दिनभर ३१ सदस्यीय कार्यसमिति अनुमोदन गर्न प्रयास गरे पनि फिफा प्रतिनिधिमण्डलले अस्वीकार गरेको थियो। ठूलो कार्यसमिति हुँदैमा काम गर्न सहज हुन्छ भन्ने मान्यतालाई फिफा टोलीले इन्कार गरेको बैठकका एक सहभागीले नागरिकलाई बताए। '३१ सदस्य मान्न दिनभर प्रयास गर्दा पनि उनीहरू त्यसमा सहमत भएनन्,' ती सहभागीले भने, 'सदस्य राष्ट्रले फिफाको गाइडलाइन कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड दिइरहे। फिफाले २ सय ९ सदस्य राष्ट्रमा कार्यसमितिका लागि स्पष्ट निर्देशन जारी गरिसकेको छ। त्यसैको कार्यान्वयन गराउन फिफा टोली काठमाडौं आएको हो। पिरारो बिहीबारै फर्किसकेका छन्। फिफाको सहमति नपाएपछि आसन्न निर्वाचनले १७ सदस्यीय कार्यसमिति नै चयन गर्ने एन्फा अध्यक्ष गणेश थापाले बताए। '३१ सदस्यको प्रस्ताव फिफाले नमाने १७ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने हामीबीच पहिल्यै सहमति भइसकेको थियो,' सुरु भइसकेको निर्वाचन प्रक्रिया नविथोलिने बताउँदै उनले भने, 'अहिलेको प्रक्रियालाई निरन्तरता दिँदै निर्वाचन हुनेछ।' यही प्रक्रियाले निरन्तरता पाए उम्मेदवारमध्ये ४३ जना एन्फा कार्यसमितिमा पर्ने छैनन्। एक कार्यकाललाई ३१ सदस्यीय कार्यसमिति मान्यता दिन एन्फाले गरेको अनुरोध फिफा प्रतिनिधिले अस्वीकार गरेका थिए। 'धेरै कार्यक्रम भएकाले काम गर्न सजिलो होस् भनेर ठूलो समिति बनाएको जानकारी दियौं,' एएफसी उपाध्यक्ष थापाले भने, 'तर, प्रतिनिधिमण्डलले त्यसलाई स्वीकारेन। १७ सदस्य पनि ठूलो हो भन्ने उनीहरूको तर्क छ। कतिपय देशमा ७ र ९ सदस्यीय समिति रहेको उदाहरण दिए।' थापाले ३ को सट्टा ४ उपाध्यक्ष राख्ने अनुमति दिन आग्रह गरिएको बताए। 'त्यो विषयमा उनीहरूले पछि खबर गर्ने बताएका छन्,' उनले भने, 'महिला सदस्यको हकमा पनि अर्को साधारण सभाबाट अनुमोदन गर्नेछौं।' फिफा टोलीले नतिजामा नम्बर एक हुन नसके पनि नेपाल कार्यसमिति संख्यामा नम्बर एक रहेको भन्दै एन्फाप्रति व्यंग्य गरेको एक सहभागीले बताए। सन् २०१३ मा हुने एन्फा निर्वाचनमा १७ सदस्यीय कार्यसमिति रहने पुरानो वैधानिक व्यवस्था खारेज गर्दै गत पुस ३ गते सम्पन्न साधारण सभाले ३१ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको थियो। त्यतिखेर केही प्रतिनिधिको विरोधका बाबजुद विधान संशोधन भएको थियो। फुटबल विवाद समाधानक्रममा २०६६ को साधारण सभाले ३१ सदस्यीय कार्यसमिति चयन गर्ने वैधानिक व्यवस्था गरेको थियो। एएफसीले ठूलो कार्यसमिति भएकोमा आपत्ति जनाए पनि एन्फाले एक कार्यकाल ३१ र २०१३ को निर्वाचनमा १७ सदस्यीय गर्ने भन्दै एएफसीकै सहमतिमा अघिल्लो निर्वाचन गरेको थियो। एन्फाले नयाँ परिस्थितिबारे छलफल गर्न शुक्रबारै सबै उम्मेदवारलाई डाकेको छ

from nagarik news

No comments:

Post a Comment